चिया बेचेर छोराछोरीलाई स्नातकोत्तर
काठमाडाैं | पुस १४, २०८१
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बेच्न थालेको २७ वर्ष भयो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल खोलेर २०५४ देखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन् ।
समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ ।
विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रूपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ ।
विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताइन् । उनले भनिन्, 'काठमाडौं तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ ।'
मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो ।
तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन् । सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरा मात्र बिक्री गर्दै आएकी छन् । छाली र चिउरा प्रति बटुका एक सयमा बिक्री गर्ने गरिएको छ ।
विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छन् ।
एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरेकी छन् भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेका छन् ।
तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन् । तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दै आएकी हुन् ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

